गरिबी निवारणका लागि किसानलाई कफी खेतीमा जोडिँदै

अनुदान पाएपछि किसान उत्साहित

User Image मेयरसाप डेस्क | २०८२ पुष ३० गते १५:२५
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-1_1.jpg

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको आयआर्जन वृद्धिका लागि प्राङ्गारिक कफीखेती विस्तारलाई तीव्रता दिएको छ ।

संघीय सरकारको विशेष अनुदान र किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब ३ करोड ३० लाख रुपैयाँ बराबरको कफी प्रवद्र्धन कार्यक्रम सञ्चालन भइरहेको छ ।

नगरपालिकाले आफ्ना १४ वटै वडामा कफीखेतीका लागि उपयुक्त भूगोल पहिचान गरी व्यावसायिक खेती सुरु गरेको छ । नगर प्रमुख सुरेन्द्रकुमार उदासका अनुसार, स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै नगरपालिकालाई कफी उत्पादनको नमूना क्षेत्र बनाउने दीर्घकालीन लक्ष्य राखिएको छ ।

यसअघि नै नगरपालिकाले किसानलाई २५ हजारभन्दा बढी कफीका बिरुवा वितरण गरिसकेको छ । नगरपालिकाले किसानलाई बिरुवा मात्र नभई सिँचाइ सुविधा, आधुनिक कृषि औजार र उपकरण समेत उपलब्ध गराउँदै आएको छ ।

उपप्रमुख प्रमिला राईले कफीखेतीमार्फत बाँझो जमिनको सदुपयोग हुने र स्थानीय स्तरमै रोजगारी सिर्जना भई किसानहरू आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरिन् ।


Facebook Comments