चिकित्सकका समस्या समयमै समाधान गर्न सांसदहरुको माग

काठमाडौं । सांसदहरुले चिकित्सकका माग सम्बोधन गर्न सरकार समक्ष माग गरेका छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा उनीहरूले चिकित्सक आन्दोलनका कारण बिरामीहरू अलपत्र परेकाले समयमै उनीहरूको माग सम्बोधन गर्न सुझाव दिएका हुन् ।
सांसद गोमादेवी तिमल्सेनाले भनिन् “चिकित्सकहरूको समस्या चाँडै समाधान गर्नुपर्छ । बिरामीहरूको स्वास्थ्यमाथि खेलबाड गर्न मिल्दैन ।” उनले स्वास्थ्य क्षेत्रमा मात्र नभएर शिक्षा क्षेत्रमा पनि समस्या उस्तै रहेको बताइन् । “शिक्षा विधेयक ल्याउने भनेर शिक्षकहरूलाई पटक–पटक झुक्याउने काम नगरौँ”, उनले भनिन्।
तिमल्सेनाले सुनचाँदी व्यवसायीहरू पनि आन्दोलनमा रहेकाले उनीहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गरिन्।
त्यसैगरी, सांसद पूजा चौधरीले केही वर्षयता स्वास्थ्य क्षेत्रमा द्विविधा पैदा भएको र संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा राखेको भए पनि गुणस्तरीय स्वास्थ्य सेवाको अभाव रहेको बताइन्। उनले भनिन्, “अहिले चिकित्सकहरूको आन्दोलनका कारण बिरामीहरू अलपत्र छन् । चिकित्सकहरूको समस्या समाधानमा सरकारको ध्यान जान जरुरी छ ।”
सांसद श्रीकृष्णप्रसाद अधिकारीले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा डेङ्गु फैलिएको र चिकित्सकहरूको आन्दोलनका कारण बिरामीहरू समस्यामा परेकाले सरकारको ध्यानाकर्षण गराए। उनले गत वर्षको विपद्बाट क्षति पुगेका पूर्वाधारहरूको अझैसम्म सुधार नभएको भन्दै समयमै सरकारको ध्यान जानुपर्ने बताए। यस वर्ष पनि विपद्का घटनाहरू बढ्न सक्ने भएकाले पूर्वतयारी गर्न सुझाव दिए।
सांसद नरबहादुर बिष्टले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण रसुवागढीको मितेरी पुल समेत बगाएकाले सबै राजनीतिक दललाई एक ठाउँमा उभिएर विपद् व्यवस्थापनमा जुट्न आग्रह गरे।
यसैगरी, बैठकमा सांसद बिष्टले कर्णाली प्रदेशलाई विशेष प्रदेशका रूपमा घोषणा गर्न आग्रह गरे। “कर्णाली प्रदेशका १० जिल्लाका आफ्नै प्रकारका विशेषता छन् । हुम्लाको लिमी उपत्यकामा रहेको गुम्बाको संरक्षण भएको छैन, त्यसलाई संरक्षण गरियोस् । अप्पर डोल्पालाई हिमाली सहरका रूपमा विकास गर्न बजेट विनियोजन आवश्यक छ,” उनले भने, “कर्णालीमा विभिन्न ताल र धार्मिकस्थल छन् । पर्यटकीय विकासका थुप्रै सम्भावना छन् । तर, पर्यटकहरूका लागि बस्न होटेल वा लजको व्यवस्था छैन । अब पर्यटन पूर्वाधारको विकास गर्नु आवश्यक छ ।”
सांसद तुलप्रसाद विश्वकर्माले निजामती विधेयकमा शब्द फेरबदल गरी थप शब्द राखिएकाले आवश्यक छानबिनको माग गरे। उनले भने, “कुलिङ पिरियडसम्बन्धी शब्द हेरफेरले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा अविश्वास बढेको छ । आफूखुसी शब्द फेरबदल गर्नु सार्वभौम संसद्को अपमान हो र जालसाजी पनि हो ।”
सांसद बामदेव गौतमले इजरायल र प्यालेस्टाइन समस्या सम्बन्धमा सभाको ध्यानाकर्षण गराए।