मनसुनजन्य विपद्बाट क्षति कम गर्न काठमाडौं महानगरले गर्यो कृत्रिम अभ्यास


काठमाडौं । मनसुनजन्य विपद्बाट जनधनको क्षति कम गर्ने उद्देश्यले ‘विपद् कृत्रिम अभ्यास’ गरिएको छ । गत वर्षको जस्तो जनधनको क्षति नहोस्, तत्काल उद्धारमा जुट्न सकियोस् भनेर काठमाडौं महानगरपालिकाले कृत्रिम अभ्यास गराएको हो ।
यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएकाले मनसुनजन्य बाढी, पहिरो तथा डुबानजस्ता विपद्बाट जनधनको क्षति घटाउन कामपाले रानीपोखरीस्थित पानीमा डुबेका व्यक्तिको खोजी र उद्धारका लागि कृत्रिम अभ्यास गरेको कामपाका नगर प्रहरी प्रमुख उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए।
“गएको वर्ष मनसुनजन्य विपद्का कारण काठमाडौँमा जनधनको क्षति भएको थियो । यस वर्ष त्यस्तो नहोस् भनेर विपद् व्यवस्थापन प्रतिकार्यको अभ्यास गराइएको हो”, जोशीले भने । उद्धारमा खटिने सुरक्षाकर्मीको क्षमतालाई अभ्यासबाट निपूर्ण बनाउने, साधनस्रोत तथा उपकरणको प्रबन्ध गर्ने, प्रयोग विधि सिकाउनेलगायत क्रियाकलाप अभ्यास गरिएको उनले जानकारी दिए ।
विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सम्पन्न विपद् प्रतिकार्य क्षमता विकास तालिममा अग्नि निवारण, जीवन उद्धार, जल प्रकोप, खोजी तथा उद्धार, डोरीको माध्यमबाट गरिने उद्धार, मृत शरीर व्यवस्थापनको सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यास गराइएको थियो ।
स्वर्णिम योजनाअन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा भूमिगत ढल, सतहको पानी निकास र ढल, मङ्गालको सफाइलगायत काम गरिरहेको नगर प्रहरी प्रमुख उपरीक्षक जोशीले बताए ।
नागरिकसँग प्रत्यक्ष जोडिएको स्थानीय तह विपद्जन्य घटनामा सबैभन्दा पहिलो सम्पर्क हुने बताउँदै महानगरकी उपप्रमुख सुनिता डङ्गोलले कामपाले दायित्व पूरा गराउन नीति, योजना तथा कार्यक्रम र बजेटको व्यवस्था गरेर काम गरिरहेको बताइन् ।
आज महानगर प्रहरी बल, सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म मुख्यालय र नेपाल प्रहरीको संयुक्त आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य संयुक्त कृत्रिम अभ्यासको अवलोकनपछि उनले स्थानीय तह नागरिकको आँगनको सरकार भएकाले जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिइन् ।
अभ्यासमा पानीमा डुबेका व्यक्तिलाई डोरीको मद्दतले उद्धार गर्ने, ढुङ्गा तथा अन्य स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गर्ने, उद्धारकर्ता पौडेर गएर बचाउने, खहरेमा परेका व्यक्तिलाई बचाउने, ढुङ्गा पल्टिँदा त्यसलाई व्यवस्थापन गर्ने, पानीबाट उद्धार गरिएको व्यक्तिलाई प्राथमिक स्वास्थ्योपचार गर्ने, आवश्यकताका आधारमा अस्पताल लैजानेलगायत अभ्यास गरिएको थियो ।
अभ्यासका क्रममा महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एकवटा डुङ्गाको प्रयोग गरिएका थियो । कामपाले एक नगर प्रहरी निरीक्षक, १६ नगर प्रहरी हबल्दार र तीन नगर प्रहरी जवान गरी २० जनालाई मनसुनजन्य विपद् व्यवस्थापन प्रतिकार्यको अभ्यास गराएको हो ।