‘दोलालघाट–चर्मावती सुरुङमार्ग काठमाडौंलाई चीनसँग जोड्ने कोसेढुङ्गा’

.jpg)
काठमाडौं । दोलालघाट–चर्मावती सुरुङ मार्ग काठमाडौंलाई चीनसँग जोड्ने ‘फास्ट ट्र्याक’ बन्ने सरोकारवालाहरूले बताएका छन् । आगामी आर्थिक वर्ष २०८२\८३ को बजेटमा समावेश यो योजनाले नेपाल, चीन र भारतलाई जोड्ने त्रिदेशीय राजमार्गका रूपमा कार्य गर्ने उनीहरूको विश्वास छ ।
शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले परियोजनालाई चीनसँगको कनेक्टिभिटीको ‘कोसेढुङ्गा’ का रूपमा प्रस्तुत गरे । मन्त्री दाहालले घना बस्ती, उत्पादन हुने क्षेत्र र छिमेकीसँगको जोडलाई दृष्टिगत गरेर परियोजना अघि बढाइने स्पष्ट पारे ।
उनले प्रारम्भिक कामका लागि विनियोजन गरिएको ४५ लाख रुपैयाँ अपुग रहेको स्वीकार गर्दै आवश्यकता अनुसार थप बजेट उपलब्ध गराइने बताए । नेपाल विकासशील राष्ट्रमा परिणत हुनु अगावै सस्तो ब्याजमा वैदेशिक ऋणको व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सुरुङ मार्ग दोलखाको धार्मिक, पर्यटकीय र आर्थिक विकासको ‘गेम चेञ्जर’ हुने धारणा राखे । पूर्वमन्त्री आनन्द पोखरेलले यसले चीन–भारत सन्तुलनसहित धार्मिक र सभ्यताको जगेर्नामा भूमिका खेल्ने बताए भने पूर्वमन्त्री पार्वत गुरुङले यसलाई बीपी राजमार्गको विकल्पको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका नेताहरू जिपछिरिङ लामा र ताराबहादुर कोईरालाले सुरुङ मार्ग आवश्यक रहेको बताउँदै भ्रष्टाचारबाट टाढा राखेर निर्माण गर्नुपर्ने धारणा राखे । राप्रपाका विजय खड्काले आयोजनाको उपयोगिता स्पष्ट हुनुपर्ने भन्दै जनताको प्रत्यक्ष लाभमा केन्द्रित हुनुपर्ने बताए ।
कार्यक्रममा सडक विभागका अधिकारीहरूले सुरुङ मार्गको सम्भाव्यता अध्ययन र लगानी सुनिश्चितताको तयारी भइरहेको जानकारी दिए । सुरुङ निर्माणका लागि राजनीतिक दलबीचको सहकार्य, स्थानीयको चासो र जनसहभागिता नै सफलताको आधार हुने सरोकारवालाहरूले बताएका छन् ।
कार्यक्रममा एमाले, कांग्रेस, राप्रपालगायत दलहरूको प्रतिनिधित्व रहेको थियो भने माओवादी केन्द्रको सहभागिता भने देखिएन ।